• काठमाडौँ : नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा लज्जास्पद हार व्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६-० ले गोल अन्तरले पराजित भएको हो ।

    बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे । खेलको २०औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै बहराइनलाई सुरूआती अग्रता दिलाएका थिए। २८औँ मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटियो ।

    ४२ औँ मिनेटमा नसिरले गोल गर्दै बहराइनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए। दोस्रो हाफमा थप आक्रमक देखिएको बहराइनले ४ गोल थप्यो । ६७औँ मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई ३-० ले अद्दि बढाए । ८३औँ मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइन ४-० ले अघि बढ्यो ।

    ८८औँ मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५-० को अग्रता दिलाए। ९० औँ मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६-० को सानदार जित दिलाए। यो जितसँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दै २ खेलमा ४ अंक जोडेको छ ।

    लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै पुछारमा रहेर छनोटबाट बाहिहिरएको छ । पहिलो खेलमा नेपाल भुटानसँग २-० ले तथा दोस्रो खेलमा कतारसँग ३-१ ले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।