• काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।

    १७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ ।

    गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

    यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएको छ ।

    लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।