• काठमाडौं : सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

    आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    सिट बाँडफाँट लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने उनले बताए । उनका अनुसार हिजो बेलुकासम्ममा झण्डै ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरोको दाबी छ । स्रोतका अनुसार प्रतिनिधि सभामा कुल १६५ सिटमध्ये बुधबारसम्म ८८ सिटमा मात्र समझदारी जुटेको छ । बाँकी सिटमा सहमति जुटाउने प्रयास समेत आज बिहानको बैठकमा पनि हुने छ ।

    कांग्रेसबाट कार्यदल सदस्य रहेका नेता ज्ञानेन्द्र कार्कीका अनुसार केही सिटका लागि शीर्ष तहमा छलफल आवश्यक छ । नमिलेका केही सिटका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिने तयारी छ ।