• चितवन : अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज शुक्रवार उनले आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्ने बताए।

    अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, ‘अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।’ अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।

    देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँ–गाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको मन्त्री शर्माले बताउनुभयो । उनले भने, ‘श्रम योग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ ।’ उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उनले उत्पादनका क्षेत्रमा लगानी बढाउन सरकार तयार रहेको बताए । निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

    मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताए । उनले भने, ‘विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन । अझै फैलिने क्रम जारी छ । यसको असर नेपालमा पनि परेको छ ।’ आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उनको भनाइ थियो । उनले भने, ‘हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबीको अन्त्य हुन्छ ।’

    फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको गठबन्धन देशको र राजनीतिक बाध्यताले बनेको दाबी गरे । अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।