• काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    सोमवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कोइरालाले नेकपाको वार्ता टोलीले सरकारसँग विसं २०७७ फागुन २० गते सम्झौता गरेको र त्योअनुसार अहिलेसम्म पाँच सय २३ वटा मुद्दा फर्स्योट भइसकेको बताए । उनले नेकपामाथि ६ सय १० वटा मुद्दा लागेको जानकारी दिँदै अहिले ८७ वटा मुद्दा फर्स्योटको क्रममा रहेको बताए ।

    मन्त्री कोइरालाले भने, ‘नेकपासँग सम्बन्धित मुद्दा ६० वटा जिल्लामा छ । त्यसमा धेरै हदसम्म काम भएको छ । अदालतमा चलेका मुद्दामा पनि एक सय १९ वटा फैसला भइसकेको छ । नेकपासँगको सम्झौता पूरा गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’

    पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीले ऐन, कानुनले नकारात्मक सूचीमा राखेका मुद्दाहरू भने मन्त्रिपरिषदबाट फिर्ता लिन नमिल्ने बताए । उनले फिर्ता लिने मुद्दाहरूमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्थामा रहेको बताए । ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रूपमा अघि बढेको उनले जानकारी दिए ।