

-
गलेश्वर : दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए ।
नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिएका छन् ।
मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउछन् पनाजु ।
शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्छन् उनी । वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै सुस्तसुस्त पाइला अघि बढ्छन् वृद्ध पुर्जाका ।
गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्छन् । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्छन् र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्छन् । दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन सुरु गरछन् ।
पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर उनले बुढ्यौलीलाई भुलाइरहेका मात्र छैन केही आम्दानी पनि गरिरहेको नाति होमबहादुर बताउछन् । पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उनको तस्वीर लिन्छन् । उपहार दिन्छन् र उनको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।
बिहानको खानामा उहाँले सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो उनको आहारा हो । ढिँडोसँगै उहाँलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने पुर्जाका नाति होमबहादुर पुर्जाले बताए । पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसीमा गर्छन् । उनी एकछिन पनि बेफुर्सद हुन चाहँदैनन् ।
आज बिहान रासससँग मोबाइलमा कुरा गर्दै १०५ वर्षीय पनाजुले भने, “उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै छ ।” उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन् ।
आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रुखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ । उनलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्दछ । नाति होमबहादुरले भने, “नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहन्छन् ।”
उनलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन । पछिल्लो समय कान अलि कम सुन्ने गरेका उनलार्ई अरू कुनै स्वास्थ्य समस्या छैन । उनले भने, “जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र ?” कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उनी आफैँ जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्छन्।
गत जेठदेखि १०५ वर्षमा प्रवेश गर्नुभएका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उनको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उनलाई चिन्नेहरु बताउँछन् । पचासी वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाउने पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गरेका छन् ।
पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी भइन् । लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्छिन् । खाना पकाउने, खुवाउने, भाँडा सफा गर्ने, श्रीमान्का कपडा धोइदिने सबै काम गर्न सक्छिन् । उनका छोरातर्फका १२ नातिनातिनी छन् । उनीहरु कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा ।
News Desk 0 response मङ्लबार, साउन १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



