• काठमाडौं : दलहरुबीच सहमति हुन नसक्दा प्रदेश–१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आ–आफ्नो डम्फु बजाउँदै बस्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना लगभग टरेको छ।

    दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् ।

    ७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसक्दा प्रदेश–१ को मात्र नामकरण हुन भने बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामकरण भने अझै हुन सकेको छैन ।

    प्रदेशको नाम टुङ्ग्याउन भन्दै गएको शुक्रवार प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए । तर, दलहरु आआफ्नै अडानमा रहेपछि सहमति हुन सकेन ।

    प्रदेश–१ मा कोशी, किराँत, कोशी–किराँत, सगरमाथा, किराँतरलिम्बुवान, शेर्पालुङ÷मधेस, विराट, विजयपुर, सप्तकोशी र लिम्बुवान÷खम्बुवान लगायतका नाम चर्चामा छन् । एकीकृत समाजवादीले किराँत प्रदेशको प्रस्ताव गरेको छ । माओेवादी केन्द्र पनि एकल पहिचानको पक्षमा छ । नेपाली कांग्रेसले सप्तकोशी र नेकपा एमाले कोशी नाम प्रस्ताव गरेको छ ।

    प्रदेशको नामकरणका लागि दुई तिहाइ बहुमत अर्थात ६२ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश–१ मा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र राप्रपा तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ गरी ९३ जना सांसद छन् ।