• काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ पत्र जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन् ।

    आज मङ्गलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली पत्र सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन्। उनले सरकारले नयाँ पत्र ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए ।

    अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा ढाँट्ने काम गरिरहेको बताए । उनले अध्यक्ष प्रचण्डले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याइँ बाहेक अरू नभएको बताए । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिए ।

    अध्यक्ष ओलीले भने, ‘एक जना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो भनेर । अन्तर्राष्ट्रियरूपमा पनि ढाँटिरहेका छन् । एसपीपीमा अहिले आएको ड्राफ्ट नयाँ हो । म सरकारलाई सक्कली पत्र देखाऊ भन्छु । म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुन सक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर र पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले । सबै टाइप छ, त्यो पछि हातले किन लेख्नुपर्‍यो ? त्यहाँ टिपेस लगाएर, त्यसलाई मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु । पत्रमा अरू सबै टाइप छ तारिख चाहिँ २७ भनेर हातले लेखिएको छ । किनभने केपी ओलीलाई मुस्नका लागि सजिलो हुन्छ भनेर हो । चलानी नम्बर पहिलाको फेरेर ८५ कसरी भयो ? सबै लाइनमा टाइप गरेको छ, बीचमा हातले ८५ लेखिएको छ । छली काम अहिलेको सरकारले गरेको छ । यदि म प्रधानमन्त्री हुँदा भएको भए पनि त्यो गलत छ, त्यो मेरो जानकारीविना भएको छ ।’

    अध्यक्ष ओलीले एसपीपीको पत्र आफू प्रधानमन्त्री नहुँदै पठाइएको भन्दै यसबारेमा अमेरिकी दूतावासले सत्य बोलोस् भन्ने चाहेको पनि बताए ।