• काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

    अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन बेहोर्नु परेको बताएका हुन्। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरे ।

    पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निश्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीले बताए । उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन । र, बेईमानपूर्ण ढंगले हट्नुभयो । पार्टी अध्यक्षमाथि गम्भिर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो ।’

    ओलीले चरम सत्ताको दुरुपयोग गरेर पालिका तह चुनावमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गरे ।