• काठमाण्डौ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन हुने बताएका छन् । आज आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै गर्भनरले यस्तो बताएका हुन् ।

    गर्भनर अधिकारीले भने, ‘हामीले नौ महिनामा झन्डै दुई अर्ब ३८ करोड डलर बराबरको सञ्चिति प्रयोग गरेका छौँ । एकै वर्षमा यति धेरै डलर प्रयोग गर्नु हाम्रो जस्तो अर्थतन्त्रका लागि निकै संवेदनशील कुरा हो ।’

    गभर्नर अधिकारीले विश्वभर उत्पादनको तुलनामा उपभोग बढिरहेको र यो अन्तरको असर सबैतिर परेको बताए । उनले नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले आयातसँगै मूल्य वृद्धि भएको उनले उल्लेख गरे । आयातित र आन्तरिक मूल्य वृद्धिको अन्तरको अध्ययन भइरहेको उनको भनाइ छ ।