• काठमाण्डौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरका उम्मेदवारद्वय रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले रेनुलाई आफ्नो छोरीको रूपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रूपमा प्रचार गरेर केही मानिसले अवमूल्यन गर्ने काम गरिरहेको बताएका हुन् ।

    सत्तारूढ गठबन्धनले आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले छोरी रेणुप्रति सङ्केत गर्दै जहाँ–जहाँ महिलाहरूले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको बताए । उनले महिला उम्मेदवारमाथि विश्वास गर्ने र उनीहरूको योग्यतालाई सम्मान गरेर अघि बढ्नु देशकै आवश्यकता भएको समेत बताए ।

    उनले भने, ‘केही मानिसले कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलालाई अपमान गरिरहेका छन् । म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु, त्यो नकारात्मक प्रवृत्ति हो । हामी पुरुषहरूले धेरै राज गर्‍यौँ तर धेरै साह्रो लछारपाटो पनि लगाउन सकिएन । एकचोटि महिलालाई कार्यकारी भूमिका दिएर हेरौँ ।’

    अध्यक्ष प्रचण्डको संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलालाई विशेष रूपले अघि बढाउनुपर्ने तर्क थियो।