• काठमाण्डौ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै छन् । काठमाण्डौ फर्किनुअघि देउवाको आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् ।

    प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए । यस विषयमा भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ ।

    हैदराबाद हाउसमा भएको पत्रकार सम्मेलनमा मोदीले भने सीमाका विषयमा केही बोलेका थिएनन् । लगत्तै भारतका विदेश सचिव हर्षवर्धन शृंगलाले पत्रकार सम्मेलन गर्दै सीमाका सम्बन्धमा वार्ता माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्ने र यो विषयलाई राजनीतीकरण गर्न नहुने बताएका थिए । यस्तै, हिजो दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

    जीपीकोइराला श्वास प्रश्वास रोग सम्बन्धी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सघाउन अनुरोध :

    नेपालले भारतलाई जीपीकोइराला श्वास प्रश्वास रोग सम्बन्धी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सघाउन अनुरोध गरेको छ।

    प्रधानमन्त्री देउवाले आफूले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिदैँ दुवै देशबीच निरन्तर रुपमा भ्रमणको आदानप्रदान भइरहनुपर्ने बताए ।

    साथै उनले कोरोनाभाइरसको महामारीसँग जुझ्न भारतले नेपाललाई उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिए।