• रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेका छन् । दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीको फोन आएको उनले बताइन् । फोनवार्तामा प्रधानमन्त्रीले आफ्नो परिवारको हालखबर बारे पनि जिज्ञासा राखेको उनले जानकारी दिइन् । करिब १५ मिनेटको फोनवार्ताको क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबानलगायतको विषयमा प्रधानमन्त्रीले चासो राखेको उनले बताइन् । अविरल वर्षा र बाढीले रौतहट डुबानमा परेको समय प्रधानमन्त्री ओलीले जिल्लाको अवस्थाबारे बुझ्न आफूलाई फोन गर्नु गौरवको विषय भएको मेयर साहको भनाइ छ । माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय खटपट चलिरहेको भन्ने चर्चा भइरहेको समयमा ओलीले साह पत्नी तथा मेयर रिनालाई फोन गर्नु अर्थपूर्ण मानिएको छ ।