• काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।

    बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जनाएको छ ।

    नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।

    उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् । प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो ।

    ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरिएको हो । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्कमा एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ ।