• काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिए । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

    अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।

    तीनदिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।

    हल्का वर्षाको सम्भावना
    हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै देशका केही स्थानमा तुवाँलो लागेको अवस्था छ ।

    देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा अपराह्नतिर मेघगर्जन/ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।