• काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ । हिजो रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।

    निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

    मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४।३४, डिजेलमा प्रतिलिटर रु २।९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४।७२ घाटा रहेको निगमले जनाएको छ ।

    निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५/१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ । निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर रु एक हजार ३७५ कायम गरेको थियो ।