• कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

    भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् । पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक–एक सय थानका १२ गड्डी र ५०० दरका एक–एक सय थानका आठ ग्डडी बरामद गरिएको जनाइएको छ ।

    पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशङ्का गरिएको छ । रासस