• काठमाडौंं । शनिबार थप ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको जानकारी दिएका छन् ।

    मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता गौतमले सो अवधिमा छ हजार ९९३ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको बताए । यसरी हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाबको नमूना परीक्षण भइसकेको उनले जानकारी दिएका थिए ।

    अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेका छन् भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको हो । यो निको हुने दर ७२ प्रतिशतभन्दा बढी हो । त्यस्तै अहिले देशभरिका क्वारन्टीनमा ११ हजार ५३३ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।