• काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा चारजनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिएका छन् ।

    “चारजनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौँ, बेलुकासम्म आधिकारीक रिपोर्ट आउँछ,” उनले भने । प्रहरी प्रधान कार्यालयका अनुसार ती कर्मचारी प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत छन् । चार प्रहरीमा कोरोनाको लक्षण देखिएपछि सो शाखामा कार्यरत अन्य प्रहरीको पनि कन्ट्याक ट्रेसिङबाट स्वाब सङ्कलन कार्य शुरु गरेको बताइएको छ ।