• काठमाडौं । कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले मृत्युवरण गर्नुपर्‍यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् ।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएकी वृद्धामा निमोनिया, श्वासप्रश्वास तथा मुटुको समस्या रहेको थियो । किशोरीमा भने श्वासप्रश्वास र फोक्सोको समस्या रहेको जनाइएको छ । यद्यपि उनीको मृत्युका कारण कोभिड–१९ भनिए पनि यसका साथमा अन्य कुनै दीर्घरोग थियो कि थिएन, केही सार्वजनिक गरिएको छैन ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको सङ्ख्या ४५ जना पुगिसकेको छ । यीमध्ये कतिमा सरुवा र नसर्ने रोगको समस्या पनि थियो अथवा कोभिड–१९ को सङक्रमणले मात्र मृत्यु भयो भन्ने विषयमा मन्त्रालयका प्रवक्ताले हालसम्म कुनै जानकारी सार्वजनिक गरेका छैनन् । ती मृत्युका कारण कोरोना सङक्रमण भनिए पनि अन्य नसर्ने रोग त्यत्तिकै जिम्मेवार रहेको चिकित्सकले जनाउँदै आएका छन् । उसो त नेपालमा पछिल्लो समय सरुवाभन्दा नसर्ने रोगले बढी मृत्यु भइराखेको छ ।

    झाडापखाला, एचआइभी÷एड्स, क्षयरोगलेभन्दा क्यान्सर, हृदयघात, मिर्गौला, मधुमेह, श्वासप्रश्वास, निमोनिया तथा उच्च रक्तचापका कारण मृत्यु हुनेको सङ्ख्याको भार बढिरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजानिक गरेको अनुसन्धान प्रतिवेदनमा नसर्ने रोगका कारण मृत्युदरमा वृद्धि भइराखेको उल्लेख छ । देशका ७२ जिल्लाका २० वर्ष र सोभन्दा माथि उमेरका १३ हजार २०० मा गरिएको अनुसन्धानले नसर्ने दीर्घरोगको भार बढी रहेको र बढ्दो जोखिमसमेत रहेको निष्कर्ष निकालेको थियो ।

    धेरैजसो व्यवहारिक तथा जैविक जोखिमका तत्व सुर्तीसेवन, मादकपदार्थ सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा बढी पुरुषमा देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव प्रा डा किरण रेग्मी भन्छन्, “क्यान्सर, मुटु, मिर्गौला, मधुमेह, श्वासप्रश्वास, निमोनिया तथा उच्च रक्तचापका रोगीलाई थप कोरोना सङ्क्रमण भएमा मृत्युको बढी जोखिम रहन्छ । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग निम्त्याउँदछ ।”

    मन्त्रालयले कोरोनाले मृत्यु भएका भनिएकामध्ये कति जनाले सुर्तीजन्य पदार्थ सेवन गरिरहेका थिए अथवा विगतमा गर्दथे भन्ने ‘मेडिकल हिष्ट्रि’सार्वजनिक गर्ने गरेको छैन । “सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिको रोगसँग जुध्नसक्ने प्रतिरोधि क्षमता कम हुन्छ । ती पदार्थको सेवनले श्वासप्रश्वास प्रणाली, फोक्सो र क्यान्सर हुने सम्भावना हुन्छ । धुमपान सेवन गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण भएमा जटिल समस्या निम्तिन सक्छ”, उनले भने, “धुमपान गर्नेको फोक्सो कमजोर हुनेहुँदा सङ्क्रमण भएमा उच्च जोखिम हुन्छ ।” नसर्ने रोगको प्रमुख कारकका रुपमा सुर्तीजन्य पदार्थ तथा धुमपानलाई लिइन्छ ।