• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ३९ जना पुगेको जानकारी दिएका छन् ।

    सोमबार विभिन्न प्रयोगशालामा ५ हजार ८ सय ५६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसैगरी काठमाडौँ उपत्यकामा सोमबार ९ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौँमा ३, ललितपुर ५ र भक्तपुर १ मा जना संक्रमित भएका छन् ।

    प्रवक्ता डा. गौतमका अनुसार कुल संक्रमितमध्ये हालसम्म १० हजार २९४ जना अर्थात ६०.७ प्रतिशतभन्दा बढी उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक एक हजार ७०५ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । ३८ जनाको भने यसअघि नै मृत्यु भइसकेको छ ।

    मन्त्रालयका अनुसार सकृय संक्रमित छ हजार ६१३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । हाल मुलुकभर क्वारेन्टाइनमा २३ हजार ४ सय ७० जना रहेका छन् ।