• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको हो । प्रवक्ता डा. गौतमका अनुसार उपत्यकामा शुक्रबार मात्रै ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका १ जना छन् ।

    मन्त्रालयका अनुसार शुक्रबार थप १२० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ । अहिले देशभरि ८ हजार ६०३ जना सक्रिय संक्रमितको आइसोलेशनमा उपचार भइरहेको छ । हालसम्म ३५ जनाको भने मृत्यु भएको छ ।

    उक्त पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको जानकारी दिएका थिए । यससँगै मुलुकभर अहिलेसम्म पीसीआर विधिबाट २ लाख ७५ हजार ९५१ जनाको परीक्षणको भएको छ ।

    त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला संक्रमणमुक्त भएका छन् भने महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा जिल्लामा ५ सयभन्दा बढी उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।