• काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए । व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको उनले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट कुनै निर्देशन नआएको उनको भनाइ छ । उनले भने, “मन्त्रालयाटै स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ ।” अहिले दैनिक ७०० देखि एक हजार ३०० सम्म कोरोना परीक्षणका लागि आउने गर्छन् । शुक्रबार ९०० जना परीक्षणका लागि आएको जनाइएको छ ।

    अस्पतालले सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । भीड धेरै हुँदा दूरी कायम गर्न गाह्रो भएको छ । अस्पतालले ट्राकिङ गरेर आश्यकको मात्रै परीक्षण गरिरहेको छ । अस्पतालले सङ्क्रमणको जोखिममा रहेका वर्ग वा सङ्क्रमित बढी भएका स्थान वा सङ्क्रमितसँग सम्पर्कमा आएकालाई रातो श्रेणीमा पार्ने गरेको छ । उच्च जोखिमका मानिसलाई रातो दिएर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षण गर्न नपर्ने छन् उनीहरुलाई हरियो दिएर पठाउने गरेको छ ।

    अस्पतालमा अहिले जोखिममा नपर्ने व्यक्ति बढी सङ्ख्यामा परीक्षणका लागि आइरहेका छन् । बन्दाबन्दी हुनासाथ काठमाडौँ उपत्यका बाहिर गएकालाई अहिले सम्बन्धित पालिका वा घरबेटीले परीक्षण गराएर मात्रै प्रवेश गर्न भनेका छन् । कर्मचारी नै मन्त्रालय जाने जनाउँदै पिसिआर परीक्षण गर्न आउने गरेका बताइएको छ । अस्पतालले पहुँच भएका व्यक्तिभन्दा पनि आवश्यक व्यक्तिको मात्रै परीक्षण गर्दै आएको छ ।

    दैनिक २८८ परीक्षण गर्नसक्ने अस्पतालको क्षमता छ । अस्पतालले एक दिन गरेको परीक्षणको अर्को दिनमा रिपोर्ट दिने गरेको उनले जानकारी दिए । सरकारले केही अस्पतालबाट अत्यावश्यक परेका व्यक्तिले शुल्क तिरेर पनि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । यसले यहाँको चाप कम हुने आशा गरिएको छ । उनले भने, “गर्नसक्ने उताबाट गर्छन् भने विपन्न वर्ग निःशुल्क गर्नका लागि तोकिएका अस्पताल जानेछन् ।”

    अस्पतालमा अहिले दुई जना सघन उपचार कक्षमा र आइसोलेशनमा २२ जना छन् । अस्पतालले केही समय पहिले मात्रै सघन उपचार कक्ष श्याय बढाएको थियो । अस्पतालले दिँदै आएका धेरै किसिमका सेवा वीर अस्पतालमा सारिएको छ । रेविजविरुद्धको खोप भने यहीँबाट लगाइने गरिएको छ ।