• काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४८२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका छन् । जसमा ३७५ पुरूष र ११७ जना महिला रहेका छन् । यो थपिएको संख्यासँगै देशभरि कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको हो । उपत्यकामा पनि १७ जना संक्रमित थपिएका छन् । तीमध्ये ललितपुरमा पाँच, भक्तपुरमा दुई र काठमाण्डौं १० जनामा कोरोना पुष्टि भएको छ ।

    प्रवक्ता गौतमका अनुसार तीमध्ये हालसम्म ४ हजार ६५६ जना निको भएका छन् । उनले बुधबार थप एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा अछामका ४५ वर्षका एक पुरूष रहेका छन् । उनको असार १४ गते अछामको बयालपाटा अस्पतालमा भएको मृत्युपछि लिएको स्वाबमा असार १६ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । उनी मधुमेहबाट पीडित भएको बताइएको छ । यीसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । हाल आइसोलेसनमा ९ हजार ३६० जना रहेका छन् भने अहिलेसम्म क्वारेन्टिनमा ४८ हजार ३६२ जना रहेका छन् ।