• काठमाडौँ । असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ लकडाउनको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ ।

    पसल पूर्ववत् खुलेका छन् । सावधानीमा ध्यान दिइएको छैन । सामान खरिद गर्न आएका उपभोक्ताले नै सावधानी अपनाएको देखिन्छ । मानिसको आवत जावत देख्दा अत्यावश्यक कामका लागि मात्र होइन समान्यरुपमा घुमफिरका लागि पनि बाहिर निस्केका छन् । कतिपयले त सामान्य मास्क पनि लगाएको देखिँदैनथ्यो ।

    लकडाउन जारी हुनुपूर्व अघि जस्तै गरी मानिसको आवत जावत छ । सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको लकडाउनको आदेशलाई बिहीबारदेखि केही खुकुलो बनाएसँगै भीडभाड बढेको हो । लामो समयदेखि कायम रहेको लकडाउनका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन लकडाउनलाई केही खुकुलो बनाइएको हो । जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ ।

    तर नागरिकले यस कुराको व्यवस्था गरी बिना प्रवाह सडकमा देखिन्छन् । यसले जोखिम बढाउने भन्दै पूर्णरूपमा सावधानी अपनाएर मात्र सञ्चालन गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनका अनुसार नागरिकको जनजीवन सहज बनाउनका लागि लकडाउनलाई केही सहज बनाउन प्रयास गरिए पनि भाइरसको जोखिम अझै कम भएको छैन, हरेक दिन बढ्ने क्रम जारी छ, त्यसैले उच्च सावधानीको साथ मात्र व्यसाय सञ्चालन गर्न आवश्यक छ ।

    भाइरस तत्काल नहट्ने र काठमाडौँ उपत्यकालाई थप सुुक्षित राख्ने हो भने बाहिरबाट आउने मानिसको आवागमनलाई पूर्णरूपमा रोक लगाउनुपर्ने र नागरिक आफैँ सचेत भई सावधानीपूर्णरूपमा बाहिर निस्कने अनावश्यकरूपमा नजाने जस्ता आधारभूत मापदण्डलाई पालना गर्नुपर्ने उनको भनाइ छ । सरकारले सवारी साधन सञ्चालनमा जोर, बिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप पनि बढेको छ । त्रिपुरेश्वर, थापाथली, बानेश्वर, जमललगायतका ठाउँमा सवारी चाप अत्यधिक बढेको देखिन्छ । सरकारले सर्वसाधारणको बढी उपस्थिति हुने स्थान तथा सार्वजनिक सवारी सञ्चालनका हकमा भने हालकै अवस्थालाई कायम राखिएको छ । रासस