• काठमाडौँ । सोमवार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३१४ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

    नयाँ थपिएका संक्रमितमध्ये २९४ पुरुष र २० महिला छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार सोमबार थप एकको मृत्यु भएको छ । यीसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उनका अनुसार स्याङ्जाका एक ५८ वर्षीय पुरुषको पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार आज २१ जना कोरोना जितेर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४८८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा पीसीआरबाट ४ हजार ७ सय ६६ र आरडीटी विधिबाट ११ हजार ९ सय ४२ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

    हालसम्म १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा छन् भने ३ हजार २ सय ६० जना आइसोलसनमा रहेको मन्त्रालयले बताएको छ ।