• काठमाडौँ । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

    जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । उनका अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौँमा नै सङ्क्रमण छ भन्न सकिन्छ ।

    उनले भने, “बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ” ।

    अर्का सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यकबाहेक सबै सवारी आवागनमा रोक लगाई थप कडा गर्नुपर्ने बताउँछन् । लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आएकालाई परीक्षणको दायरामा ल्याउन उनले सुझाव दिए ।

    स्थानीय तहले पनि सम्भावित स्थानमा परीक्षणको दायरा बढाउन आवश्यक छ । कुनै एक स्थानमा परीक्षण गरी बस्ने अवस्था नभएको पनि उनको भनाइ छ । काठमाडौँ उपत्यकामा हालसम्म पनि क्वारेन्टिन सञ्चालन गरिएको छैन ।