• काठमाडौं । नेपालमा मंगलबार थप ९० जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । योसँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ७ सय ७२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ सय ७२ पुगेको जानकारी दिएका हुन् ।

    उनका अनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, अर्घाखाँचीका २, गुल्मीका २, स्याङ्जाका २, धनुषाका १, रूपन्देहीका १, कैलालीका १ र अछामका १ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ ।

    त्यसैगरी अहिलेसम्म पीसीआरबाट ५४ हजार ४२४ र आरडीटी विधिबाट ९७ हजार ९६७ नमूना परीक्षण भएको मन्त्रालयले बताएको छ ।