• काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।

    महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो । बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए÷ नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

    परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेका थिए । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पिसीआर परीक्षण गराएकी थिइन् । उपप्रमुखसहित सबैको परीक्षण नतिजा भने आउन बाँकी छ ।

    सो अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “उपत्यकामा सङ्क्रमित व्यक्तिहरु देखिन थालेका छन् । यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई सशङ्कित बनाएको छ । यो आशङ्कालाई निवारण गर्नका लागि हामीले परीक्षण शुरु गरेका हौँ । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गर्छौँ ।”

    उनले भने, “जो जहाँ हुनुहुन्छ, त्यहीँ बसिदिनोस् । यसले महामारी नियन्त्रणमा सहयोग पुर्‍याउँछ । सबै संयम भएर घरमा बस्न सके मात्र कोरोनामाथि विजय प्राप्त गर्न सक्छौँ । यसकारण अहिले कोही पनि काठमाडौँ बाहिरबाट भित्र आउने र भित्रबाट बाहिर जाने नगर्नोस् । यो आउने जाने समय होइन ।”

    कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् । सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजार बढी मानिसको आवतजावत हुन्छ । तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५०० भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् । कामपाले आज बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।