काठमाडौँ । बिहीबार थप दुई जनामा कोरोना सङ्क्रमण देखापरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
योसँगै संक्रमितको संख्या १ सय १ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन् । जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
त्यसैगरी संक्रमितमध्ये २२ जना निको भएका छन् । जसमध्ये तीन जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।