• बागलुङ । जैमिनी नगरपालिका–८ छिस्तीमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विनियोजित रु एक करोड ५६ लाखमा भवन बनेको वडाध्यक्ष विजय अधिकारीले जानकारी दिनुभयो ।

    भवनबाट आइतबारदेखि सेवा दिन थालिएको छ । भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डारलगायतका कक्ष छन् । कर्मचारीको आवास सुविधाका लागि समेत कोठा बनाइएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्यचौकी प्रमुख दलबहादुर पुलिसाले बताउनुभयो । यसअघि जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता थियो ।

    नवनिर्मित भवनको हालै गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले उद्घाटन गर्नुभएको थियो । पछिल्लो समय जिल्लामा स्वास्थ्यचौकी भवन धमाधम निर्माण भइरहेका छन् । रासस