

-
काठमाडौँ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पुर्याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्थानीय तहमा नै बैंक तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्यसमेत भएको छ ।

केन्द्रीय बैंकका अनुसार कूल ७५३ स्थानीय तहमध्ये अब १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बाँकी रहेका स्थानीय तहमा पनि वाणिज्य बैंक शाखा खोल्न तयार भए पनि सुरक्षा, सूचना प्रविधिको पहुँच तथा उपयुक्त घरको अभावमा जटिलता देखिएको छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।
बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा खोल्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा बैंक पुगेका छन् । यस्तै सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानमा बैंकका शाखा पुगेका छन् ।

केन्द्रीय बैंकका अनुसार गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । वित्तीयरूपमा सो प्रदेशका सबै स्थानीय तहमा शाखा खुलेर पहुँच स्थापित भएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सुदू्रपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८४ मा वाणिज्य बैंकका शाखा खुलेका छन् ।
स्थानीय तहमा बैंकको शाखा पुर्याउने सरकारको लक्ष्यलाई आत्मसात् गर्दै आफूहरुले पनि दुर्गम क्षेत्रमा शाखा खोलेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो । प्रभु बैंकले डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङमा समेत बैंकको शाखाको विस्तार गरेको छ ।

समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाइमा रहेको साल्दाङस्थित शे–फोक्सुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणलाई बैंकले सेवा दिने लक्ष्य राखेको छ ।
यस्तै सनराइज बैंक, एनएमबी बैंकले पनि राष्ट्र बैंकले तोकेको स्थानमा आफ्ना शाखा खोली वित्तीय सेवा दिएका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि राष्ट्र बैंकले दिएको निर्देशनअनुसार नै आफूहरुले स्थानीय तहमा शाखा विस्तार गरेको बताउनुभयो । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत मङ्सिर मसान्तसम्म कूल १६५ रहेको छ । त्यसमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या नौ हजार २९७ पुगेको छ । गत असार मसान्तमा त्यस्ता शाखा सङ्ख्या कूल आठ हजार ६८६ रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने एवं प्राप्ति हुने प्रक्रिया शुरु भएपश्चात् गत मङ्सिर मसान्तसम्म कूल १८१ बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् । त्यसमध्ये १३८ संस्थाको इजाजतपत्रसमेत खारेज भएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तवार्ताका क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने क्रम लक्ष्यको नजिक पुगेको बताउनुभएको थियो । उहाँले केही स्थानीय तहमा सूचना, प्रविधि पुग्न बाँकी रहेको र केहीमा सुरक्षाको प्रबन्धलगायतको काम पूरा हुनेवित्तिकै शाखा खुल्ने विश्वास व्यक्त गर्नुभएको थियो । वित्तीय समावेशीताका लागिसमेत अनिवार्यरूपमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुुनुपर्नेछ । रासस
News Desk 0 response बिहिबार, माघ ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३

