• काठमाडौं ।
    दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अस्पतालमा २२ जना चिकित्सकको दरबन्दी छ । तर अहिले ६ जना मात्र कार्यरत छन् । उपचारका लागि दैनिक करिब तीन सय बिरामी आउँछन् । ती मध्ये कतिपय जटिल खालका बिरामी हुन्छन् । उनीहरुलाई आईसीयुमा राखेर उपचार गराउनुपर्ने हुन्छ । अस्पतालमा आईसीयु कक्ष छ तर पनि सञ्चालनमा छैन । जसका कारण जटिल खालका बिरामी अस्पतालमा उपचार नपाएपछि नेपालगञ्ज र बुटवल जान वाध्य छन् । चिकित्सकको अभावमा आईसीयु कक्ष संचालनमै आउन नसकेको विषयलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिन सकेको छैन ।

    आईसीयु कक्षमा ५० लाख बढी रकममा उपकरण समेत खरिद गरि जडान गरिएको छ । तर, बिशेषज्ञ चिकित्सक नभएकाले उपकरण प्रयोगविहिन छन् । अस्पताल प्रशासनले सेवा दिनै नसकेको विषयमा प्रदेश सरकारलाई जानकारी गराएपनि सुनुवाई भएको छैन ।