• काठमाडौं ।

    काठमाडौं निजगढ द्रुतमार्ग निर्माण तोकिएकै समयमा सक्न मुश्किल हुने देखिएको छ । अहिलेसम्म पुल र सुरुङ निर्माणको काम सुरु नभएकाले पनि सो आयोजनाको काम आगामी २ वर्ष भित्र नेपाली सेनाले सम्पन्‍न गर्न नसक्ने निष्कर्ष छ । सो आयोजनाको काम आगामी ५ वर्ष भित्र पनि नेपाली सेनाले सम्पन्‍न गर्न नसक्ने सांसदहरुले दावी गरे ।


    नेपाली सेनाले हालसम्म गरेको काम सन्तोषजनक नरहेकाले त्यसको लागत पनि बढेर जाने चिन्ता व्यक्त भएको छ । यता, आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेश गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपीआर स्विकृतिमा ढिलाई भए आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराए। उनले सुरुङ र पुल निर्माणको कामबाहेक अन्य कामलाई भने दू्रत गतिका साथ अघि बढाइएको पनि बताए। नेपाली सेनाले सुरुङ निर्माणका कारण आयोजनाको लागत बढन सक्ने पनि अनुमान गरेको छ । २०७८ साल भित्र निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिइएको सो आयोजनाको लागत बढेर पौने २ खर्ब पुग्‍ने नेपाली सेनाको अनुमान छ ।

    यो काम समयमै सक्न संसदीय समितिले नेपाली सेनालाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले आयोजनाको काम सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई सचेत गराएको छ ।