• काठमाडौं । सामन्ती सोचका उच्चपदस्थ कर्मचारीका कारण कर्मचारीसंयन्त्रमा आधुनिक प्रणाली प्रवेश हुन पाएको छैन । उनीहरुलाई सेवा गर्ने सचिवालयले यो कुराको पुष्टि गर्दछ । सानो तथा ब्यवस्थित सचिवालय निर्माण गरेर आधुनिक प्रणालीको छनक दिनुपर्ने भएपनि दास र मालिक प्रबृत्ति त्यहाँ देख्न सकिन्छ । जुनसुकै सचिव तथा सहसचिवको कार्यकक्षमा पुग्दा यस्तै देखिन्छ ।
    सचिव वा सहसचिवको सचिवालयको स्वरुप हेर्ने हो भने सेवाका लागि कम्तीमा पाँच जना कर्मचारी देखिन्छन् । केही ठाउँमा अझ धेरै छन् । घरबाट कार्यालय ल्याउन र लैजान एकजना चालक दिनभर खटिन्छन् । घर र कार्यालय लाने÷लैजाने कामपछि चालक दिनभर घाम तापेर बस्ने वाहेक अर्को काम हुन्न । सचिवालयमा अधिकृत÷नासु र खरदार खटेका हुन्छन् । उनीहरुको काम टेलिफोन उठाउने वाहेक अरु देखिदैन । सचिवालयमा कम्युटर अपरेटर छुट्टै ब्यवस्था गरिएको हुन्छ । टाईप गर्न सक्ने सचिव तथा अन्य सहयोगी भएपनि कम्युटर अपरेटरको नाममा कर्मचारी ब्यवस्थापन गरिएको हुन्छ । अतिथि सत्कार उच्चपदस्थलाई तातो चिसोको ब्यवस्था गर्न कार्यालय सहयोगी पनि तैनाथ हुन्छन् । सचिवका लागि मात्र होईन सहसचिवका लागि पनि सोही प्रकृतिको सचिवालयको ब्यवस्था गरिएको देखिन्छ । दूरदराजमा कर्मचारीको अभावमा समस्या भईरहँदा सिंहदरवारका उच्चपदस्थ कर्मचारीको यो रवैयाले उनीहरुलाई शासकको झल्को दिएको सानापदका कर्मचारीको आरोप छ । घर ल्याउने लैजाने चालकले कार्यालयमा आईपर्ने साना काम गर्न सक्ने भएपनि त्यो ब्यवस्थापन गरिएको पाईदैन ।
    जनशक्तिको उचित ब्यवस्थापन नहुँदा परम्परागत ढाँचामा काम भईरहेको छ । तर पनि कसैले आवाज उठाएको पाईदैन । केन्द्रीय निकायको प्रमुखहरुकै यो भद्धा सचिवालयले देशको मुहार देखाएको पूर्वप्रशासक कैलाशनाथ खरेल बताउँछन् । मन्त्रालयका सचिव तथा सहसचिवले चाहने हो भने यसलाई ब्यवस्थापन गर्न सकिने मानव संशाधनका जानकार मोहन ओझा बताउँछन् । ‘सचिव ,सहसचिवले प्रशासन सुधार्न धेरै सक्छन् तर, परम्परागत ढाँचामा छन् । सचिवलाई फोन उठाउने, चालक, सघाउन अधिकृत÷नासु,कम्युटर अप्रेटर सहयोगी हुन्छन् । हातहातै मोवाईल हुन्छ तर, टेफिलोन लगाउने अर्कै किन ?’– खरेल प्रश्न गर्छन् ।
    चालक दिनभर घाम तापेर बसेको हुन्छ । चिया वनाउन एउटा मेशिन पर्याप्त हुन्छ । गाडी चलाउन जान्ने एउटा ब्यक्तिले कार्यालयमा हुने साना काम सवै गर्न सक्छ । टाईपिङ सवै कर्मचारीले जान्दछन् । स्मार्ट अफिस वनाउन उनीहरुको दक्षता बढाउन सकिन्छ । बेलाबेला तालिम प्रशिक्षण पनि हुन्छ । तर, सुधार भएको छैन । नीति तर्जुमा गर्ने र राज्यलाई निर्देशन गर्ने तहका कर्मचारीनै यस्तो भद्रगोलमा छन् । कमजोरी भएको सरकारी कर्मचारी स्वीकार गर्छन् । तर, पहल गर्दैनन् । नीजीस्तरको कार्यालय थोरै कर्मचारीले ब्यवस्थापन गरेको देखेका उच्चतहका प्रशासकले आफ्नो कार्यालयको यो अवस्था सुधार नगर्नु सामन्ती प्रबृत्तिको उदाहरण हो ।
    -जनप्रशासन पाक्षिक