• काठमाडौं : टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित दर्ता गरेको छ । सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले हराएको हो ।

    नेपालले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको होबर्ट १८.३ ओभरमा ११५ रनमै समेटियो । होबर्टका नितेश स्यामुएलले ३७, टिम वार्डले २३, कप्तान निवेथन राधाकृष्णनले २० र जेक कर्टियनले १२ रन बनाए ।

    नेपालका नारायण जोशीले तीन, पवन सराफ र साहब आलमले दुई–दुई तथा विपिन खत्रीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रनको योगफल तयार पारेको थियो ।

    नेपालका कुशल भुर्तेलले ३९, मयन यादवले ३१, कप्तान अनिलकुमार साहले २८, लोकश बमले अविजित २० र तृतराज दासले १० रन बनाए ।

    होबर्टका राफ म्याकमिलनले तीन, मार्कस बीनले दुई तथा निवेथन राधाकृष्णन र ब्राडली होपले एक–एक विकेट लिए । पहिलो जितसँगै नेपालले दुई अंक जोडेको छ । यसअघि नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग ९ विकेटको हार व्यहोरेको थियो।

    यता, होबर्टको यो लगातार तेस्रो हार हो । यसअघि टोली भिक्टोरिया क्रिकेट संघ–११ सँग पाँच विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग तीन विकेटले पराजित भएको थियो । अब नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरीको सामना गर्नेछ ।