• काठमाडौं : आज एउटै मञ्चमा उपस्थित भएका नेपालका चार जना कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरूले कम्युनिस्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड दिएका छन् । मदन भण्डारी फाउन्डेशनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीको सन्दर्भमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल भेला भएका हुन् ।

    ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ’मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा उनीहरूले कम्युनिस्टहरू मिल्नुपर्ने बताएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खडा भएको बताए। चुनावअघि नै मिलेको भए कम्युनिस्टहरूले कम्तीमा सय सिट ल्याउने भन्दै उहाँले अब दीर्घकालीन एकता गर्नैपर्ने बताए ।

    यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताए । कम्युनिस्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताए ।

    यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए। एउटा पार्टी मात्र नभई नेपालमा सबै कम्युनिस्ट घटक मिल्नु आवश्यक रहेको तर कुरा गरेर मात्र केही नहुने उनको भनाइ छ । मिल्न सक्नुपर्ने जति मिल्नुपर्ने उनले बताए।

    यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिस्टहरूका नीति सही भएको दाबी गरे । कम्युनिस्टहरूसँगै सबै लोकतान्त्रिक शक्ति मिलेर अहिलेको ’प्रतिगमन’लाई पराजित गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे । यसका लागि वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा मदन भण्डारी फाउन्डेशनका अध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारिएको पुस्तकका लेखक रमेश रुछेन राईलाई २ लाख रुपैयाँको पुरस्कार हस्तान्तरण गरिन् ।