• काठमाडौं : प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद्‌मा विचाराधीन निजामती सेवा विधेयकमा षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

    माओवादी केन्द्रको संसदीय कार्यालयमा सोमबार दुई दलका शीर्ष नेताहरूको छलफलमा षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई दल मिलेर सशक्त प्रस्तुत हुने विषयमा छलफल भएको एकीकृत समाजवादीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

    ‘संसद्‌मा विचाराधीन विभिन्न विधेयक छन् । विद्यालय विधेयक अड्काइएको छ। सङ्घीय निजामती सेवा विधेयकमा षड्यन्त्र गरिएको छ ।

    साथै अन्य विधेयकका विषयमा संसद्‌मा खेल्नुपर्ने भूमिकाको सवाल छ । यी विषयमा विशेष गरी दुई पार्टीका सांसदहरूले कसरी सशक्त रूपमा प्रस्तुत हुने विषयमा छलफल भयो’, उनले भने ।

    यस्तै समाजवादी मोर्चाले आगामी दिनमा खेल्नुपर्ने भूमिका र दुवै पार्टीका नेताहरू तथा तल्ला तहका कार्यकर्तासँग सम्बन्ध विस्तार गर्दै लैजाने विषयमा छलफल भएको उनले बताए ।