• काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताएकी छिन् ।

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको सन्दर्भमा आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीले पार्टीको यो निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएकी हुन्। पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा आएर देश र नागरिकको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रहसमेत गरिन्।

    भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले देशको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन, मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने बारेमा सोचेर अघि बढिरहेको बताइन् ।

    एमालेको मङ्गलवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको थियो ।

    गएको असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू पुनः सक्रिय पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।