• काठमाडौँ ।


    नेपाल निजामती कर्मचारी संगठनले सरकार र सम्बन्धित निकायलाई ध्यानकर्षण गराएको छ । विहिवार पत्रकार सम्मलेन गरेर आफ्नो धारणा संगठनले सार्वजनिक गरेको हो ।


    संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको परिवर्तनशील परिस्थितिमा समायोजन गरिनु पर्ने माग राखिएको कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ईन्चार्ज उमेश पराजुलीले बताए ।

    कार्यालय प्रमुख र अन्य पदहरूको पदोन्नति र नियुक्ति प्रक्रियामा सुधार गर्न माग गरिएको छ ।

    न्यूनतम १० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई स्वचालित पदोन्नति र तलब वृद्धिको व्यवस्था गर्न पनि संगठनले माग गरेको छ ।

    कार्यरत कर्मचारीहरूको स्थायीकरण र स्थायी सेवा सुरक्षाको माग पनि संगठनको छ ।

    स्थानीय तहमा काम गर्ने कर्मचारीको तलब र सुविधा सुनिश्चित गर्न आवश्यक रहेको संगठनको धारणा छ ।

    विभिन्न तहको पदोन्नतिका लागि ६ वर्षको अवधि घटाई ३ वर्षमा पदोन्नतिको व्यवस्था गर्न माग गरिएको छ ।
    संगठनले कर्मचारीको हितका लागि विभिन्न गतिविधि र आन्दोलन जारी राख्ने प्रतिवद्धता जनाएको छ ।

    कर्मचारीको अधिकार, सम्मान, र सामाजिक सुरक्षा सुनिश्चित गर्न संघीय सरकारलाई दबाब दिने प्रतिवद्धता पनि दोहोर्याएको छ ।

    सहिद स्मृति दिवसका कार्यक्रम सार्वजनिक

    नेपाल निजामती कर्मचारी संगठनले ‘सहिद मनोज झपेन्द्र, सुरेन्द्र,स्मृति दिवस २०८२ ’ को अवसरमा विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

    सहिद स्मृति दिवसका अवसरमा खेलकुद, वृक्षारोपण, रक्तदान, कविता प्रतियोगिता लगायत विविध कार्यक्रम सञ्चालन गरिने भएको छ । जसअनुसार अन्तर ट्रेड युनियन ब्याडमिन्टन प्रतियोगिता श्रावण ९ र १० मा हुने छ । वृक्षारोपण तथा गोष्ठी कार्यक्रम श्रावण १० तय गरिएको छ ।

    बृहत रक्तदान कार्यक्रम श्रावण ११ गते आयोजना गरिएको छ । राष्ट्रियस्तर कविता प्रतियोगिता साउन ११ र १२ गते हुनेछ । सहिद स्मृति मूल समारोह, उत्कृष्ट कार्यसमिति घोषणा तथा पुरस्कार वितरण बिवतरण कार्यक्रम श्रावण १२ गते हुने छ ।