• काठमाडौं : काठमाडौं महानगरपालिकाले १७औं नगरसभाबाट आउँदो आर्थिक वर्ष २०८२/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र साहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याएको बताए ।

    उनका अनुसार काठमाडौं महानगरपालिकालाई समावेशी सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, नवप्रर्वतनमुखी स्मार्ट शहरका रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, सांस्कृतिक तथा सम्पदा संरक्षण र दिगो शहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

    नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा कार्यान्वयन हुन बाँकी योजनाहरूलाई निरन्तरता दिइने उल्लेख छ । यस्तै आवधिक रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइने महानगरले जनाएको छ ।

    नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिष्कृत गर्दै निरन्तरता दिने उल्लेख छ । यस्तै समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बीउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइने भएको छ ।

    सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लब स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै अपाङ्गता, अटिजम, फरक क्षमता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षण केन्द्र र पहुँच पुर्‍याउन त्यही अनुसारका पूर्वाधार निर्माण गर्नेजस्ता महानगरको नीति छ ।