• काठमाडौं : चीनतर्फ भारी बर्षासँगै बाढीले आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

    यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान रातोपाटीलाई बताए ।

    उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।

    उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।

    यस्तै कतिपय मानिसहरु समेत बगाएको आशंका गरिएपनि अहिलेसम्म आधिकारिक पुष्टि भने हुन बाँकी रहेको उनको भनाइ छ ।

    बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ भने कैयन व्यापारीहरू समेत विपद्मा फसेका छन् ।