• पत्रकार तथा डकुमेन्ट्री निर्माता प्रेम बानियाँले नेपालको भौगोलिक विशिष्टतालाई विश्व सामु चिनाउने उद्देश्यसहित ऐतिहासिक तथा साहसिक यात्राको अवधारणा सार्वजनिक गरेका छन्। समुन्द्र सतहदेखि जम्मा ५८ मिटर उचाइमा रहेको झापाको कचनाकवलदेखि लिएर संसारकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सम्मको पैदलयात्रा समेटिएको ‘Connecting the Dots’ शीर्षकको डकुमेन्ट्रीको पहिलो टिजर सोमबार सार्वजनिक गरिएको हो।

    यस परियोजनाले नेपालको भूगोलमा नै विश्वको सबैभन्दा होचोदेखि सबैभन्दा अग्लो उचाइसम्मको सम्पूर्ण उचाइ समेटिएको तथ्यलाई उजागर गर्ने लक्ष्य लिएको छ। बानियाँको शब्दमा, “यो डकुमेन्ट्री केवल यात्रा होइन, नेपालको जमिन र जनताको सपनालाई विश्वसामु प्रस्तुत गर्ने अभियान हो।”

    अझ विशेष कुरा के छ भने, डकुमेन्ट्रीमा सहभागी भएका छन् विश्वप्रसिद्ध आरोही तथा The North Face का ग्लोबल टिम लिडर कोनराड एन्कर (Conrad Anker) — जो तीनपटक सगरमाथा आरोहण गरिसकेका छन् र हलिउडका चर्चित डकुमेन्ट्रीहरूमा देखा परेका छन्। साथै, विश्व साइकल यात्री पुष्कर शाहको पनि सक्रिय सहभागिता रहेको छ।

    प्रेम बानियाँले यो यात्रा ५८ मिटरलाई ‘imagined below sea level’ का रूपमा चित्रित गर्दै, यसलाई ‘जिरोदेखि सर्वोच्च’सम्मको वैश्विक प्रतीक बनाउने योजना बनाएका छन्। यसले नेपालकै भूगोलमा विश्वको सम्पूर्ण उचाइ समेटिएको अद्वितीयता प्रमाणित गर्छ, जुन राष्ट्रिय गौरव र पर्यटन प्रवर्द्धनमा सहायक हुने विश्वास गरिएको छ।

    यस डकुमेन्ट्रीले राष्ट्रप्रेम, अनुसन्धान र कल्पनाशीलतालाई एकै साथ समेट्दै नयाँ ढंगको पर्यटन, साहसिकता र भूगोल शिक्षालाई जोड्ने प्रयास गरेको छ।