• काठमाडौँ ।

    सिंहदरबारभित्र एउटा मन्त्रालय छ, त्यसको नाम हो, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण । जहाँ एकजना सुब्बा छन् । उनको नाम हो, युवराज गिरी । उनको जिम्मेवारी मन्त्रालयको स्टोर शाखामा छ । जहाँ उनी कहिलेकाँही भेटिन्छन् । उनको अधिकांश समय मन्त्री, सचिव र बिचौलियासँग भेटघाटमा समय जान्छ । उनले मन्त्रीदेखि बिचौलिया सम्म मिलाएर काम गर्छन् । सरुवादेखि बढुवासम्ममा उनको चर्तिकला देखिन्छ । त्यो पनि हाकाहाकी रुपमा उनी पैसामा सरुवाको काम गर्छन् भनेर त्यहीका कर्मचारी भन्छन् । त्यसोत संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयसम्म उनैको पहुँच हुन्छ ।

    त्यतिमात्र होइन उनीसँग लाइन नमिलाएका कर्मचारीहरू सरुवा भएपनि अनेक सूचनाको पीडित हुनु पर्छ । बाध्य भएर उनीसँग जोडिन पुग्न पर्छ ।

    उनी यस अघि शहरी विकास मन्त्रालयमा थिए । त्यहाँ पनि अनेक हर्कत गर्दै अकुत आम्दानीमा परे । अनि अख्तियारवाला निकायको कारवाहीमा परे । अझ भनौँ, निलम्बनमै परे । भुकम्पमा जस्तापाताको काण्डमा उनको नाम अगाडि आयो। तर, यो सबै विषयमा उनले मिलाए । उनको व्यक्तिगत सूचना प्रणाली हेर्दा पनि उनी लामो समयसम्म शहरी विकास मन्त्रालयको स्टोर शाखामा मस्ती मारिरहे ।

    उनले कतिसम्म लाइन मिलाएर काम गर्न सक्छन् भन्ने कुरा त उनीकै हाकिम भएर शहरी विकास मन्त्रालयमा काम गर्ने एकजना उपसचिवलाई भूमि व्यवस्था मन्त्रालयमै लगे । शहरी विकास मन्त्रालयको आन्तरिक महाशाखा प्रमुख रहेका जीवन सेढाईं भूमि मन्त्रालयको फाजिल मै बसे । कार्यालयसमेत नहुँदा सेढाईं उनै गिरीको कुर्सीमा बसेर दिन कटाउँथे । उपसचिव भएपनि सुब्बाको कुर्सीमा दिन कटाएका सेढाईं अहिले मालदार मानिने ललितपुर मालपोत कार्यालयमा पुगेका छन् । मन्त्रीदेखि सचिवसमेत मिलाएर गिरीले सेढाईँलाई ललितपुर लान सकेको मन्त्रालय वरपर चर्चा छ । अहिले जग्गा दर्ताको नाममा गढबढी भईरहेको सूचना मन्त्रालयमा आएको छ । तर, उनी टममस हुन्नन ।

    यो त एउटा उदाहरण मात्र हो । गिरीको लाइनमा मालपोत कार्यालय जाने र जान चाहनेको सङ्ख्या अधिक छ । सङ्घीय मामिला मन्त्रालय स्रोतका अनुसार अहिले त सादा कागजमा नामावली लेखेर भूमि व्यवस्था मन्त्रालयले पठाउने गरेको छ । माथिल्लो निकायलाई जानकारी नै नदिई उनै सुब्बा गिरीहरूले यो सारा सेटिङ् मिलाएको हुन सक्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले बताए ।