

-
काठमाडौं : भिजिट भिसा काण्डले गृहमन्त्री रमेश लेखकको कुर्सी राम्रैसँग हल्लिन थालेको छ । करोडौंको भ्रष्टाचार भएको भनिएको यो काण्डमा उनी प्रत्यक्षरुपमा संलग्न छन् वा छैनन्, त्यो निराकरण गर्न बाँकी नै छ ।
सचिवालयमा नियुक्त गर्दा नै विवादास्पद अनुहारहरु छनौट गर्नु, लेनदेनका घटनामा तिनै कर्मचारीको संलग्नता देखिनु, प्रहरी प्रशासनका कर्मचारी सरुवा गर्दा सेटिङ मिलाउनु र अहिले घटना सार्वजनिक भइसकेपछि नैतिक जिम्मेवारी लिनुको साटो कर्मचारीलाई दोष दिएर आफू चोखिने प्रयास गर्नुले मन्त्री लेखक आगामी दिनहरुमा नैतिकताको कसिबाट कसरी जोगिएलान्, त्यो भने समय क्रममा देखिनेछ ।
भिजिट भिषा प्रकरणको अन्तिम चुरो र त्यसमा भएको ‘लेनदेन’को मात्रा तथा त्यसका हिस्सेदारहरु को को हुन् अहिले नै भन्न नसकिए पनि यो भुटानी शरणार्थी काण्ड भन्दा सानो होइन भन्नेमा शंका छैन । भुटानी शरणार्थी काण्डको मुख्य नाइकेको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवाका सबैभन्दा निकट मध्येका एक तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण थिए, जो पक्राउ परेर केही महिना हिरासत बसेपछि धरौटीमा रिहा भएका छन् । यही काण्डमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी लगायतका कैयौं अभियुक्तहरु भने पुर्पुक्षको लागि अहिले पनि जेलमै छन् ।
संयोग कस्तो परेको छ भने काण्डको प्रकृतिले उस्त उस्तै रहेको अहिलेको भिजिट भिषा प्रकरणका मुख्य नाइकेको रुपमा लिइएका गृहमन्त्री लेखक पनि देउवाकै ‘किचन क्याविनेटका प्रभावकारी सदस्य’ मानिन्छन् । कांग्रेस भित्रको गुटको लडाईमा देउवा, खाँण र लेखक तिनैजना सधैभरि एउटै कित्तामा रहँदै आएका छन् । भलै, अहिले भुटानी शरणाथी प्रकरणमा आफूलाई चोख्याउन नसकेको भन्दै अहिले खाँणले कित्ता फेरेका छन् । केही दिन अगाडि रुपन्देहीका कार्यकर्ताहरुको माझ उनी आफैले त्यो घोषणा गरे । उनले आफू कित्ता फेर्न वाध्य भएको भन्दै अबको पार्टी सभापति शेखर कोइराला भएको घोषणा नै गरे ।
भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री खाँणको जे भूमिका थियो, अहिलेसम्म सार्वजनिक तथ्य हेर्दा भिजिट भिषा प्रकरणमा लेखकको भूमिका त्यस्तै त्यस्तै देखिन्छ । पार्टी राजनीतिमा खाँण र लेखक एक अर्कोलाई दाई—भाई भन्ने गर्छन् । गृहमन्त्री पनि दाई पहिले र भाई पछि भए र अहिले घटना क्रमहरु हेर्दा लाग्दैछ—काण्डहरुको सृजना गर्नमा पनि भाई लेखकले दाई खाँणको बिँडो समातेका छन्, ‘सच्चा उत्तराधिकारी’ बनेका छन् । अब हेर्नुछ—जेल जाने मामिलामा पनि उनी खाँणका उत्तराधिकारी बन्छन् कि बन्दैनन् रु
त्यसो त नेपालमा गृहमन्त्रालय शान्ति सुरक्षा, अमन चमन कायम गराउने देशको सर्वोच्च निकाय हो कि भ्रष्ट उत्पादन गर्ने वा भ्रष्टाचारीलाई संरक्षण गर्ने निकाय हो ? भनेर प्रश्न गर्नु पर्ने अवस्था छ । २०४७ साल यताका अधिकाँश गृहमन्त्री र गृहसचिवहरु भ्रष्टाचारको दलदलमा भासिएका छन् । धेरै जसो गृहमन्त्रीको कुर्सीमा पुगेपछि भ्रष्टाचारमा संलग्न भएको देखिन्छ भने कतिपय भने अन्य मन्त्रालय वा निकायमा गरिएको भ्रष्टाचारका कारण गृहमन्त्री भएपछि डामिएका छन् ।
जस्तो कि त्यसमध्येका प्रमुख घटना र त्यसमा संलग्न रहेका गृहमन्त्रीहरुको बारेमा यहाँ सर्सती जानकारी दिइएको छ ।
शेरवहादुर देउवा
२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा राजा—कांग्रेस र वामपन्थी पार्टीहरु मिलेर अन्तरिम सरकार गठन भयो । उक्त सरकारमा गृहमन्त्री रहेका कांग्रेस नेता योगप्रसाद उपाध्याय गृहमन्त्री बने । उनी आर्थिकरुपमा विवादमा परेनन्, तर महिलाहरुले आफ्नो सुरक्षाको लागि खुर्सानीको धुलो साथमा लिएर हिंड्न सुझाव दिएपछि लामो सयमसम्म महिलावादीहरुको आक्रोसको शिकार बने ।
उपाध्याय लगत्तै अर्थात् २०४८ को आम निर्वाचन पछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको एकल बहुमतको सरकारमा शेरबहादुर देउवा गृहमन्त्री बने । बहुदलकालमा गृह प्रशासनलाई मात्र होइन, त्यसयता समग्र देशलाई नै उठ्नै नसक्ने गरि भ्रष्टाचारको दलदलमा पुर्याउनुमा देउवाको मुख्य भूमिका रहेको देखिन्छ । देउवा सांसद खरिद विक्री, सुरा—सुत्केरी काण्डदेखि पछिल्लो समयका भ्रष्टाचारका घटनाहरुमा पनि कुनै कुनैरुपमा देउवाको भूमिका रहेको देखिन्छ । खाँण संलग्न रहेको भनिएको भुटानी शरणार्थी प्रकरणमा त देउवा पत्नी तथा अहिलेकी परराष्ट्रमन्त्री आरजु राणाकै संलग्नता रहेको चर्चा चल्ने गर्छ ।
केपी ओली
२०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको नेकपा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री बनेका थिए अहिलेका प्रधानमन्त्री केपी ओली । गृहमन्त्री हुँदा ‘मिस्टर क्लिन’ रहेका ओली जव पार्टी र देशको सत्तामा हावी भएपछि त्यसपछि भने गिरिवन्धु जग्गा प्रकरण लगायत अनेक काण्डहरुमा मुछिए, मुछिइरहेका छन् ।
खुमबहादुर खड्का
ओलीपछि गृहमन्त्री बने त्यतिबेला कांग्रेसका प्रभावशाली नेता रहेका खुमबहादुर खड्का । देउवा पहिलो पटक प्रधानमन्त्री बनेकै दिन २०५२ असोज ५ गतेदेखि २०५३ फागुन १८ गतेसम्म पहिलो पटक र २०५४ मंसिर १८ गतेदेखि २०५५ बैशाख ७ गतेसम्म गृहमन्त्री बनेका खड्का सरकारको गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग) मा कार्यकर्ता भर्ती गरेर ठूलो मात्रामा कसिमन उठाएको र विभागलाई अस्तव्यस्त बनाउने तथा पंचायतकालमा शुरु भएको सुन तस्करीलाई थप व्यवस्थित गर्ने पात्रकोरुपमा चिनिन्छन् । पछि यातायात मन्त्री पनि बनेका खड्कालाई सर्वोच्च अदालतले २०६९ साउन ३० गते भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ स्रोत नखुलेको सम्पति जफत गर्न र त्यति नै रकम जरिवाना असुल गर्न पनि आदेश दिएको छ । त्यहीअनुसार अहिले उनको परिवारको नाममा रहेको सम्पत्ती जफत गर्ने प्रकृया शुरु भएको छ । त्यो प्रकृयालाई देउवा, लेखक लगायतका कांग्रेसका नेताहरुको दवावमा झण्डै १२ वर्षदेखि अल्झाइएको थियो । सर्वोच्च अदालतकै दवाव पछि अहिले जफतको प्रकृया शुरु भएको बताइएको छ । खड्काको भने २०७४ मा निधन भैसकेको छ ।
बामदेव गौतम
खुमबहादुर खड्का पछि गृहमन्त्री बने तत्कालिन एमाले नेता बामदेव गौतम । पहिलो पटक २०५३ फागुन २९ गते गृहमन्त्री बनेका गौतम त्यसयता ३ पटक गृहमन्त्री बने । २०५६ मा बनेको परि थापा थापा नेतृत्वको सुन तस्करीसम्वन्धि उच्च स्तरि संसदिय छानबिन समितिले तत्कालिन गृहमन्त्री खड्का र गौतमलाई सुन तस्करको मुख्य नाइकेको रुपमा लिंदै कारवाहीको लागि सिफारिस गरेपनि उनीहरुमाथि कारवाही भने कहिल्यै भएन ।
२०५४ सालमा एमाले विभाजन गरेर माले बनाएपछि एमालेले गौतमलाई खुलामन्चमा कार्यक्रम गरेरै तस्करको नाइके भएको घोषणा गरेको थियो । तर, २०५८ मा एमालेमा प्रवेश गरेका थिए ।
कृष्ण सिटौला
२०६२, ६३ को आन्दोलन पछि गिरीजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री थिए कांग्रेस नेता कृष्ण प्रसाद सिटौला । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत सुडानको डार्फर क्षेत्रमा खटिएका नेपाली प्रहरीका लागि आवश्यक सुरक्षा र बन्दोबस्तीका सामग्रीहरू—जस्तै आर्म्ड पर्सनल क्यारियर लत्ताकपडा, जेनेरेटर आदि—खरिद गर्दा ठूलो मात्रामा अनियमितता भएको पाइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते २८ करोड ८१ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गर्दै ३४ जना प्रहरी अधिकारी र दुई ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त काण्डमा नेतृत्वदायी भूमिका सिटौलाको भए पनि उनीमाथि कुनै कारवाही भने भएन ।
विजय गच्छेदार
कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गच्छेदार बालुवाटार जग्गा प्रकरण लगायतका अनेकौं काण्डहरुमा मुछिएका व्यक्ति हुन् । २०४८ यता पटक पटक मन्त्री भएका गच्छेदार गत आम निर्वाचनमा पराजित भएपछि भने अहिले सत्ताबाट बाहिर छन् ।
कृष्णबहादुर महरा
माओवादी नेता महरा गृहमन्त्री छंदै सुन तस्करी लगायतका विवादमा परेका थिए । पछिल्लो समय करिब साढे १ वर्ष अघि पनि सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए । उनका छोराहरु समेत सुन तस्करीमा मुछिएका छन् ।
शक्ति बस्नेत
माओवादी नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि अनेक काण्डमा मुछिएका छन् । उनी हाम्रो नयाँ कृषि सहकारी संस्थाको ठगी प्रकरण लगायतका विभिन्न प्रकरणहरुमा जोडिएका छन् ।
जनार्दन शर्मा
पूर्व अर्थमन्त्रीसमेत रहेका शर्मा बजेट घोटालासम्वन्धि चर्चित मुसा र सिसिटिभि फुटेज काण्डका मुख्य पात्र हुन् ।
भीम रावल
हाल एमालेबाट निस्कासित रावल माधव नेपाल प्रधानमन्त्री हुंदा गृहमन्त्री थिए । उनी गृहमन्त्री हुंदा ठूलो काण्ड नघटेपछि पर्यटन मन्त्री हुंदा घटेको ‘चेज एयर काण्ड’ का मुख्य ‘मास्टर माइण्ड’ मानिन्छन् ।
दानबहादुर शाही
पूर्व कृषि सचिवसमेत रहेका शाही माघ १९ को काण्डपछि राजा ज्ञानेन्द्रले आफ्नै नेतृत्वमा गठन गरेको सरकारमा गृहमन्त्री थिए । उनी कृषि सचिव हुँदा घटाइएको करोडौंको मल काण्डका मुख्य पात्र हुन् । गृहमन्त्री हुंदा पनि उनी २०६२,६३ को जनआन्दोलन दवाउन प्रमुख भूमिका खेल्ने पात्रको रुपमा चिनिन्छन् ।
गोविन्दराज जोशी
२०५६ पछि गृहमन्त्री भएका कांग्रेस नेता सर्वोच्च अदालतबाटै भ्रष्टाचारी ठहर भएपछि अहिले उनी गुमनाम छन् । कुनै बेला नेपाली कांग्रेसका सबैभन्दा प्रभावशाली मानिने जोशी भ्रष्टाचारको मुद्धामा जेल परेपछि राजनीतिमा माथि आउन सकेका छैनन् ।
बालकृष्ण खाँण
खाँणको बारेमा माथि नै चर्चा गरिएको छ ।
रबि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर छोटो समयमै राष्ट्रिय राजनीतिमा तहल्का पिटेका लामिछाने विगत एक डेढ वर्ष यता सबैभन्दा चर्चित सहकारी काण्डका मुख्य अभियुक्तहरु मध्ये एक हुन् । जो, अहिले भैरहवा कारागारमा रहेका छन् ।
यी त केही नमुना पात्र र काण्डहरु हुन् । वास्तवमा गृहमन्त्री बनिसकेपछि अधिकांश नेताहरु काण्डहरुमा मुछिने, कारवाहीको भागदार हुने तथा बदनाम हुने वा विवादास्पद पात्रहरुलाई नै गृहमन्त्री बनाउने प्रवृत्तिले नेपालको समग्र कानुनी शासन व्यवस्थालाई नै चुनौति दिएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


