• काठमाडौं ।


    तातोपानी भन्सारमा बरामद गरेर राखिएको भेप भन्सार कर्मचारीकै मिलेमतोमा चोरी गरिएको खुलेको छ । सिसि फुटेजका आधारमा पक्राउ परेका व्यक्तिहरुनै भन्सार अन्तर्गतकै कर्मचारी रहेका छन् ।

    विद्युतीय चुरोट (भेप) प्रकरणमा मंगलबार बेलुका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
    भन्सारबाट केही दिनअघि ३६ कार्टुन भेप चोरी भएको थियो ।

    भेप चोरीको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । सीसीटीभी फुटेजको आधारमा माक्स लगाएका केही व्यक्तिले भेप चोरेको देखिएको थियो । जसमा भन्सारका एक सुरक्षाकर्मीको कोठाछेउमा दुई कार्टुन भेप प्रहरीले फेला पारेको थियो ।

    त्यही आधारमा भन्सारका गार्डसहित अपरेटर र अन्य दुई स्थानीयलाई प्रहरीले समातेको हो । भन्सार कार्यालयले जाहेरीसमेत बेलैमा दिएको थिएन । उनीहरुकै मिलमतो भएका कारण जाहेरी नदिएको बताईएको छ । भन्सारका कर्मचारीले चोरी भयो भनेर व्यपारीलाई नै सामान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।
    केही समयअघि सिल्क ट्रान्सपोर्टको एक कन्टेनर चेकजाँच गर्दा त्यसभित्र ९ सय ८० कार्टुन भेप फेला परकेो थियो ।

    जसमा प्रत्येक कार्टुनमा डेढदेखि दुई सय थानसम्म भेप थिए । भेपको बजार मूल्य औसतमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म रहेको छ । एकै पटक ल्याइएको डेढ लाखभन्दा बढी थान भेप अहिले भन्सारको निगरानीमा राखिएको थियो ।

    तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले भेपको चोरी आरोपमा भन्सारका एक सुरक्षाकर्मी ,अपरेटर र दुई स्थानीय नियन्त्रणमा लिइएको बताए ।

    हराएको ३६ कार्टुन हो । तर, दुई कार्टुनमात्र फेला परेको छ ।
    यो नाका बाट अबैधरुपमा भेप ल्याउने क्रम खुव बढेको छ । सिल्क ट्रान्सपोर्टकै इमाडोलस्थित गोदामबाट गत पुसमा ८६ हजार थान भेप बरामद भएको थियो । उक्त मुद्दामा गोदामका दुई कर्मचारीलाई २० करोड बैंक ग्यारेन्टी लिएर थुना मुक्त गरेको छ । यसअघि सशस्त्र र नेपाल प्रहरीले अरनिको राजमार्गमा तातोपानी नाकाबाट लुकाइछिपाई ल्याइएको भेप बरामद गरेको थियो ।

    कन्टेनरमा चालकले लुकाएर ल्याएको ८ सय ५५ थान भेप बरामद गरेर प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।