

-
काठमाडौं : अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगित गर्न पत्र पठाएको छ ।
अमेरिकाले तीन महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै यूएसएआईडीले नेपाललाई पनि पत्र पठाएर तीन महिनाका लागि सबै कार्यक्रम रोक्न भनेको हो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले दातृ निकायमार्फत हिजो पत्र प्राप्त भएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पत्रमा तालिम, सामान किनमेल, समुदायका लागि सञ्चालित कार्यक्रमलगायत स्थगित गर्न भनिएको छ ।
तीन महिना पछि प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेर अनुदान दिनेरनदिनेसम्बन्धी निर्णय गर्नेसमेत पत्रमा उल्लेख भएको सुवेदीले जानकारी दिए ।
नयाँ सरकार आउँदा अघिल्ला कार्यक्रमहरूको लगानीमा प्रभावकारिता हेर्नु स्वाभाविक भएको र पत्रमा कार्यक्रमहरू खारेज नभनी स्थगित भनेकाले पछि अनुदानले निरन्तरता पाउने सम्भावना रहेको उनको भनाइ छ ।
नेपाल जस्तो अल्पविकसित देशलाई दिएको अनुदान पूर्ण रूपमा रोक्ला जस्तो आफूलाई नलागेको सुवेदीको भनाई छ ।
यूएसएआईडीले अर्थ मन्त्रालयलाई पनि पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।
पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ ।
पत्रमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिलेलाई ९० दिनका लागि अनुदान निलम्बन गरिएको जानकारी दिए पनि पनि त्यसपछि के हुन्छ भन्ने उल्लेख छैन ।
अमेरिकाले नेपाललाई बजेटमा समावेश हुने गरी (बजेटरी) र बजेटभन्दा बाहिर खर्च गर्ने गरी (गैरबजेटरी) माध्यमबाट अनुदान दिँदै आएको छ । धेरै अनुदान यूएसएआईडीमार्फत आउने गर्छ ।
नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आइरहेको अनुदान छुट्टै हो ।
अमेरिकाबाट प्राप्त अनुदान नेपालमा सुशासन, मानव विकास, विपद् सुरक्षण तथा पूर्वतयारी, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य र जनसङ्ख्या क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन, एचआईभी एड्स, पानी आपूर्ति तथा सरसफाइ, आधारभूत स्वास्थ्यलगायत क्षेत्रमा प्रयोग हुँदै आएको छ ।
देशको वित्तीय सुधार, प्रशासन सुधारलगायत क्षेत्रमा पनि अमेरिकी अनुदान खर्च हुँदै आएको छ । कृषि क्षेत्रतर्फ कृषि नीति तथा प्रशासन व्यवस्थापनमा अमेरिकी अनुदानको ठूलो रकम उपयोग भइरहेको छ ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरङ्ग उत्पन्न भएको छ । अब तीन महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुङ्गो लगाउने छ ।
News Desk 0 response सोमवार, माघ १४, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


