• काठमाडौं : भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावमा अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता, समाजका लब्ध प्रतिष्ठित व्यक्तिदेखि कलाकारहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दैछन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टोखा नगरपालिकाको धापासीमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौंको चुच्चेपाटीमा रहेको उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्दै छन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाण्डौ महानगरपालिका–९ तीनकुने गैरीगाउँमा रहेको अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्नुहुनेछ ।

    पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा रहेको वीपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ भने अर्का पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालमा रहेको साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नेछिन् ।

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि रुवाखोला भए पनि यस पटक देशबाहिर गएकाले मतदान गर्नेछैनन् ।

    नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

    यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

    नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । यही पार्टीका वरिष्ठ नेता झलनाथ खनालको इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रको मतदानस्थलमा नामावली समावेश छ ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौंको पुरानो बानेश्वरमा रहेको सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

    यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौंको अनामनगरमा रहेको मिलन विद्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ मा रहेको महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन्। मुख्यसचिव सुमनराज अर्यालले काठमाण्डौको गोकर्णेश्वर नगरपालिकापा–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नेछन्।

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर महानगरपालिका–१४ मा रहेको स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रबाट मतदान गर्दै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ मा रहेको वडा कार्यालयबाट मतदान गर्नेछन्।

    यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रबाट मतदान गर्दै छन्।

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं महानगरपालिका–६ महाँकालमा रहेको जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्ने सचिवालयले जनाएको छ । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

    कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल, नेता डा. शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय मतदान केन्द्र, नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा रहेको परोपकार आर्दश मावि ‘क’ मतदान केन्द्र, एमालेका महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको जनता संस्कृत मावि मतदान केन्द्र, एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको नारायणी मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्।

    कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ मा रहेको कविशिरोमणि मावि मतदान केन्द्र, नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ को श्री राजेश्वर निधि मावि मतदान केन्द्र, नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० को कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्र र एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयको धापासी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।

    एमाले नेता सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्र, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा रहेको यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्र र नेकपाका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ मा रहेको बालउदय मावि माडीचौर मतदान केन्द्रबाट मतदान गर्दै छन्।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले काठमाडौं महानगरपालिका–१६ र स्वर्णिम वाग्लेले गोरखाको शहीद लखन थापा गाउँपालिकाबाट मतदान गर्नेछन् ।

    शताब्दी पुरुष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरीशङ्करलाल दासले काठमाडौं महानगरपालिका–७ सिफलचौर मतदान केन्द्रबाट मतदान गर्नेछन्। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ललितपुर महानगरपालिका–२ सानेपामा रहेको राजघाट मतदान केन्द्रबाट मतदान गर्नेछन्।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं महानगरपालिकामा रहेको विशाल मिलन केन्द्र मतदान केन्द्र, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुलेश्वरमा रहेको कृषि सामग्री संस्थान मतदान केन्द्र र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले काठमाडौंको पद्मकन्या मावि डिल्लीबजार मतदान केन्द्रबाट मतदान गर्दैछन्।

    अभिनेता राजेश हमालले लैनचौरमा रहेको जननाथ स्मृति मावि केन्द्र, अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जमा रहेको काठमाडौं महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्र र अभिनेता भुवन केसीले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको गुह्येश्वरी मावि केन्द्रबाट मतदान गर्नुहुनेछ ।