• काठमाडौं : नेपाल प्रहरीले चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको छ । सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटिएका हुन् ।

    उनीहरूले चुनाव अवधिभर प्रदेशमा रहेर त्यस मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्ने प्रहरीले जनाएको छ । चुनावको सुरक्षाका लागि प्रहरीले हिजो पूर्वआईजीपी, निर्वाचन आयुक्तहरू लगायतलाई प्रधान कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

    यसैबीच सुरक्षा निकायहरूले आउँदो चुनाव विथोलिनेगरी सुरक्षा थ्रेट नरहेको निष्कर्ष निकालेको छ । सुरक्षा सङ्गठनले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर तीन भागमा मतदानस्थलको वर्गीकरण गरेका छन् । चुनाव नै विथोल्ने थ्रेट नभए पनि हुन सक्ने झडपहरुतर्फ सचेत रहेर सुरक्षा व्यवस्था मिलाएको सुरक्षा निकायले जनाएका छन् ।