• काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसिरहेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

    पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि हिजो संयुक्त विज्ञप्तिमार्फत नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरि विशेष महाधिवेशनको विकल्प अघि सारेका थिए। यसले पार्टीभित्र विवाद थप बढेको छ ।

    यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफलसमेत गरेका छन् । बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

    यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुनको चुनावपछि महाधिवेशन गर्ने गरि कार्यतालिका प्रस्तुत गरेका छन् । उनले बैठकमा पेश गरेको कार्यतालिकामा आउँदो वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । तर कांग्रेसको विशेष महाधिवेशन पक्षधरले यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न दबाव बढाएका छन् ।

    विशेष महाधिवेशनको पक्षमा रहेकाको समूहले आज पत्रकार सम्मेलन गरि पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्यरूपमा सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनीहरूले विशेष महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको दाबीसमेत गरेका छन् ।